सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

२०८३ जेठ २५, ०६:०३ खबर संवाददाता

काठमाण्डौ: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनका लागि सन् २०३० सम्म देशभर कम्तीमा १० हजार चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ । ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ शीर्षकको यस अध्ययन प्रतिवेदनअनुसार अहिले देशभर एक हजार चार्जिङ स्टेशन सञ्चालनमा छन् ।

तिनीहरु धेरैजसो काठमाण्डौ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन् । राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाडीको प्रयोग गर्न कठिनाइ भइरहेको छ ।

प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्टस् पुर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । सरकारले जलविद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ ।

ऊर्जा मन्त्रालयले तयार पारेको रणनीतिअनुसार पेट्रोलपम्पमा समेत चार्जिङ स्टेशन राख्ने र प्रमुख सहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य  छ । सन् २०३० सम्म ९० प्रतिशत निजी गाडी विद्युतीय बनाउने र सन् २०४५ सम्म ‘नेट शून्य कार्बन’ उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाडीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन् । 

कमेन्ट लोड गर्नुस