नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै
काठमाण्डाै: नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ।
विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार २०८१ सालमा २ हजार ६०० जनाको शल्यक्रिया भएकोमा २०८२ सालमा यो सङ्ख्या ३ हजार पुगेको छ। यो तथ्याङ्क नेपालभरका २० भन्दा धेरै न्युरो केन्द्रको अध्ययनमा आधारित हो।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीमध्ये सबैभन्दा धेरै ३० देखि ५० वर्ष उमेर समूहका छन्। उनले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताए।
स्टेज १ र २ मा शल्यक्रियामार्फत उपचार सम्भव हुने भए पनि स्टेज ३ र ४ मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्नासाथ वान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्।
वीर अस्पतालले दुई वर्षदेखि प्रदान गर्दै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डा. झाले जानकारी दिए।
विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा ’प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने रहेको छ ।