बाजुरा–हुम्ला सीमा विवाद क्षेत्र लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली
बाजुरा: बाजुरा र हुम्लाको सीमा क्षेत्रमा देखिएको विवादलाई मध्यनजर गर्दै लाम्पाटामा सशस्त्र प्रहरी बलको टोली पुगेको छ। टोलीले त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी थालेको छ।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटातर्फ प्रस्थान गरेको टोली शनिबार विवादित क्षेत्रमा पुगेको हो। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै गरिने जनाएको छ।
आवश्यकता अनुसार थप जनशक्ति तथा अन्य सहयोग पनि प्रधान कार्यालयमार्फत उपलब्ध गराइने बताइएको छ।
पछिल्ला दिनहरूमा उक्त क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद बढ्दै गएपछि शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो।
यसअघि नेपाल प्रहरीको टोली समेत लाम्पाटा क्षेत्रमा पुगिसकेको छ। सुरक्षा निकायहरूले स्थानीय अवस्थाको निरन्तर निगरानी गर्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक कदमहरू अघि बढाइरहेका छन्।