सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेटः प्रत्यक्षलाई ८, समानुपातिकलाई ५ करोडका योजना

२०८३ असार १, ११:५१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुलाई यसअघि करिब दुई अर्ब २३ करोड भाडबण्डा गरेकोमा त्यो अंक बढाएर तीन अर्ब ६१ करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका सांसदलाई पाँच करोड र समानुपातिकतर्फका सांसदलाई तीन करोड दिने भनिएकामा त्यो अंक बढाएर प्रत्यक्षतर्फका लागि आठ करोड र समानुपातितर्फका लागि पाँच करोड पुर्‍याएको छ। 


यसअघि प्रत्यक्षतर्फका ३२ जनाका लागि पाँच करोडका दरले एक अर्ब ६० करोड र समानुपातिकतर्फका २१ जनाका लागि तीन करोडका दरले भाग दिएर ६३ करोड छुट्याएको थियो। त्यसबाहेक शक्तिशाली सांसदहरुका लागि बेग्लै बजेट उपलब्ध गराउने तयारी सरकारको थियो। 

आफ्नो भाग परेको बजेटबाट सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र तथा रुचिअनुसारका आयोजना र बजेट प्रस्ताव तयार गरी सरकारलाई बुझाइसकेका छन्। प्रभावशाली सांसदहरुले भने अझै बढी हिस्सा दाबी गरेका छन्। जसअन्तर्गत सत्ता साझेदार दलका संसदीय दलका नेता, विपक्षी पार्टीका प्रभावशाली नेता, काँग्रेसका प्रभावशाली नेताहरु, सरकार ढाल्नका लागि काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्न अगुवाई गर्ने नेताहरु, हस्ताक्षर फिर्ता लिने सांसद, मुख्यमन्त्रीको गुटमा रहेका सांसदहरु लगायतले थप बार्गेनिङ गरेर आफ्नो पोल्टामा बजेट पार्न सफल भएका हुन्। 

सरकारले आज साँझ पाँच बजे बजेट सार्वजनिक गर्ने तयारी थालेको छ। काँग्रेस र एमालेबीच बजेट सिलिङका विषयमा अझै खटपट चलिरहेको छ। जसका कारण बजेटलाई अन्तिम रुप दिन समस्या भइरहेको बताइएको छ।
 
सामान्यतया बजेट सार्वजनिक हुने अघिल्लो दिनमै बजेटको सम्पूर्ण तयारी पूरा भइसक्नु पर्ने हो। तर, आइतबार एमालेकै मन्त्रीहरुलगायत अन्य सांसदहरूले आफ्नो पोल्टामा बजेट र आयोजना पार्न दिनभर कसरत गरेकाले बजेटलाई अन्तिम रुप दिन नसकिएको स्रोतको दाबी छ। एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयको सिलङमा चित्त नबुझाएका कारण पनि बजेटलाई अन्तिम रूप दिन नसकिएको आर्थिक मामिला मन्त्रालयक स्रोतको दाबी छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस