सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

२०८३ असार ३, ०६:३३ खबर संवाददाता

काठमाण्डाै : सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराए।

काठमाण्डाैका सुकुम्वासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् । अघिल्ला सरकारहरूले भूमि आयोगमार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमिसम्बन्धी समिति बनाएर सुकुम्वासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी गरे। उनका अनुसार बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताए।

यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गरे।

पछिल्लो ३ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको ५९ लाख ४ हजार ६०० रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिए। त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो ।

पछिल्लो ३ महिनामा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस