अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु देउवा राणा देउवालाई अहिले मुद्दा नचलाई उनीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।
उनको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने भन्दै विशेष अदालतले आरजु लगायतबारेमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो ।
अख्तियार उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको निर्णयको व्यहोरामा आरजु राणा देउवाका बारेमा ‘उल्लिखित घटना एवं विषयमा नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचारजन्य कार्य गरे/गराएको हुनसक्ने देखिएको,’ उल्लेख छ ।
निर्णय उद्धृत गर्दै अख्तियारस्रोतले भन्यो, ‘उक्त विषयसँग सम्बन्धित कागजातहरूको मिसिल खडा गर्ने र विशेष अदालतको फैसला/आदेश बमोजिम उक्त विषयको सम्बन्धमा छुट्टै अनुसन्धान गर्ने भनी आयोगबाट निर्णय भएको हो ।’
यसअघि अख्तियारले अनुसन्धानको सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरी बयानका लागि डाकेको थियो ।
पूर्वमन्त्री आरजु राणाले हङकङबाट इमेल पठाएर उपचारका क्रममा रहेकाले अहिले आफू आउन नसक्ने जवाफ लेखेकी थिइन् ।
अख्तियारसम्बद्ध स्रोतका अनुसार, उनी बयानमा आउन नसकेको र जवाफको रुपमा पठाएको इमेलबारे मुद्दामा कुनै विवरण उल्लेख छैन ।