सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्त कमैया परिवारकी छोरीको प्रेरणादायी यात्रा

२०८३ असार १५, १२:२८ लक्ष्मण ढुङ्गाल

धनगढी: अभाव र पारिवारिक जिम्मेवारीले धेरैका सपना अधुरै रहन्छन्। तर केही मानिस यस्ता पनि हुन्छन्, जसले कठिनाइलाई नै आफ्नो सफलताको आधार बनाउँछन्। धनगढीकी निर्मला चौधरी त्यस्तै एक प्रेरणादायी पात्र हुन्।

मुक्त कमैया परिवारमा जन्मिएकी निर्मला नौ सन्तानमध्ये सबैभन्दा कान्छी हुन्। उनका लागि जीवन कहिल्यै सहज बनेन। घरमा बिहान–बेलुकाको छाक टार्नै संघर्ष थियो। आमा कुइरीदेवी चौधरीले नौ सन्तान हुर्काउँदा भोगेको दुःख निर्मलाले नजिकबाट देखिन्। उनी भन्छिन्, "म सबैभन्दा कान्छी भएकाले दाजुभाइ–दिदीबहिनीले जति दुःख भोग्नुपरेन, तर आर्थिक अभाव भने बाल्यकालदेखि आजसम्म पनि महसुस गरिरहेकी छु।"

अभावका बीच शिक्षाप्रतिको अठोट

धनगढीस्थित त्रिभुवन माध्यमिक विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेपछि उनले कैलाली बहुमुखी क्याम्पसमा स्नातक र त्यसपछि स्नातकोत्तर अध्ययन पूरा गरिन्। तर यो यात्रा सहज थिएन।
विद्यालय छोड्नुपर्ने अवस्था आउँदा 'रेड' नामक संस्थाले शुल्क, कापी–किताब, पोसाक, झोला र जुत्तासम्मको व्यवस्था गरिदियो। त्यो सहयोग सम्झिँदै उनी भन्छिन्, "यदि त्यो सहयोग नपाएको भए मेरो पढाइ त्यहीँ रोकिन्थ्यो।"
स्नातक तहमा छात्रवृत्ति पाएकी निर्मलाले स्नातकोत्तर अध्ययनका लागि भने आफैं संघर्ष गरिन्। बिदाको समयमा धुप बनाउने कम्पनीमा काम गरिन्। आमाले पाउने भत्ता र आफ्नै कमाइ जोडेर करिब ४० हजार रुपैयाँ जुटाइन्। त्यही रकमले उनको स्नातकोत्तर अध्ययन पूरा भयो।

रहरभन्दा जिम्मेवारी ठूलो

निर्मलाका धेरै साथीहरूको विवाह भइसकेको छ। तर उनी अहिले विवाहभन्दा भविष्य निर्माणलाई प्राथमिकता दिइरहेकी छन्।
उनको स्पष्ट भनाइ छ, "पहिले लोकसेवा पास गर्छु, त्यसपछि मात्रै विवाहबारे सोच्नेछु। अहिले मेरो पहिलो लक्ष्य आफ्नो खुट्टामा उभिनु हो।"
अहिले पनि उनी विलासी जीवनभन्दा संघर्षलाई रोजिरहेकी छन्। धेरै साथीहरू मोटरसाइकल र स्कुटर चढेर हिँड्छन्। तर निर्मला भने पुरानो साइकल चढेर कार्यालय पुग्छिन्। उनी आफ्नो रहरभन्दा परिवार र भविष्यलाई प्राथमिकता दिन्छिन्।

बिहान लोकसेवा, दिनभरि काम

अहिले निर्मलाको दैनिकी निकै व्यस्त छ। बिहान लोकसेवा आयोगको तयारी कक्षामा जान्छिन्। त्यसपछि धनगढीस्थित मालपोत कार्यालयमा लेखापढीको काम गर्छिन्। फुर्सदको समयमा बालबालिकालाई ट्युशन पनि पढाउँछिन्।
उनी भन्छिन्, "मेरो मेहनतको कमाइले आमाको औषधि–उपचार चलिरहेको छ। आफ्ना सामान्य आवश्यकताहरू पनि आफैं पूरा गरिरहेकी छु। यही नै मेरो सबैभन्दा ठूलो खुसी हो।"

शिक्षा केवल जागिरका लागि होइन

निर्मलाको बुझाइमा शिक्षा भनेको जागिर पाउने माध्यम मात्र होइन, जीवन परिवर्तन गर्ने शक्ति हो।
उनको भनाइ छ, "पढाइले जागिर मात्रै दिँदैन, मानिसलाई आत्मनिर्भर बनाउँछ। सोच, बोली र व्यवहार परिवर्तन गर्छ। त्यसैले सबै महिलाले पढ्नैपर्छ।"

लोकसेवा नै अबको लक्ष्य

स्नातकोत्तर उत्तीर्ण गरेसँगै निर्मलाको अर्को सपना सरकारी सेवामा प्रवेश गर्ने हो। अहिले उनी लोकसेवा आयोगको तयारीमा जुटेकी छन्।
उनी आत्मविश्वासका साथ भन्छिन्, "यदि विभिन्न निकायबाट सहयोग नपाएको भए स्नातकोत्तरसम्म पुग्न सक्दिनथेँ। अब लोकसेवा पास गरेर समाजलाई केही योगदान दिन चाहन्छु। संघर्षले मलाई हार मान्न होइन, अघि बढ्न सिकाएको छ।"

संघर्षबाट जन्मिएको प्रेरणा

निर्मलाको कथा एउटा व्यक्तिको सफलताको कथा मात्र होइन। यो अभावका बीच पनि सपना देख्न सकिन्छ, मेहनतले परिस्थिति बदल्न सकिन्छ र शिक्षा नै जीवन परिवर्तनको सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश हो।
मुक्त कमैया परिवारकी एक छोरी आज स्नातकोत्तरसम्म पुगेर लोकसेवाको तयारी गरिरहेकी छन्। उनको संघर्षले थारु समुदायका मात्र होइन, आर्थिक अभावसँग जुधिरहेका हजारौँ युवायुवतीलाई एउटा सन्देश दिन्छ—"परिस्थिति जति कठिन भए पनि सपना नछोडे सफलता एक दिन अवश्य भेटिन्छ।"

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस