सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कुलबाट बेपत्ता भएकी बालिका मृत फेला

२०८३ असार १७, ०१:१९ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहामा विद्यालयबाट निर्धारित समय अगावै छुटेकी एक बालिका मङ्गलवार बेपत्ता भएकोमा बुधवार मृत फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ६ वर्षीया मनिषा विक बुधवार बिहान १०ः४० मा मृत फेला परेकी हुन्।

वडा नम्बर ४ निवासी मनिषालाई मङ्गलवार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा समय ११ बजे भए पनि मंगलबार भने ९ बजे नै बिदा भएको थियो। हजुरआमा ११ बजे मात्र विद्यालय लिन आउँदा मनिषा विद्यालयमा थिइनन्।

बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो। बुधवार प्रहरी र स्थानीयले खोजतालास गर्ने क्रममा लाम्कीचुहा-५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएपी योगेन्द्र तिमिल्सिनले जनाकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस