सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिना हेलमेट बुलेट बाइक चलाएका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५ सय जरिवाना

२०८३ असार १८, ११:५५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गराएको छ।

मुख्यमन्त्री शाहले बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको जनाएको छ।

प्रहरीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै ५०० रुपैयाँ जरिवाना बुझाएका हुन्। ट्राफिक प्रहरीले कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेको छ।

मुख्यमन्त्रीले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि प्रहरीले कानुनअनुसार कारबाही गरेको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ। ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक पाँच सय रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र त्यसपछि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ।

मुख्यमन्त्री शाहले पहिलो पटक हेलमेट नलगाइ मोटरसाइकल चलाएकाले पाँच सय रुपैयाँ जरिवान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस