फोर्स गाडी कर्णाली नदीमा खस्यो, यात्रु संख्या यकिन छैन
सुर्खेतः बिहीबार सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवहाक फोर्स गाडी कर्णाली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित साङ्गेतडामा बुलबुले यातायातको कर्णाली ०३–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।
प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेको भन्ने सूचना आए पनि यकिन हुन सकेको छैन। सुर्खेतका सूचना अधिकारीले यात्रु संख्या पुष्टि गर्ने प्रयास भइरहेको बताए। उनका अनुसार चालकले दैलेखको ताराबजारस्थित रारा होटलमा ८–९ जनाका लागि खाना अर्डर गरेको भन्ने सूचना पनि प्राप्त भएकाले वास्तविक यात्रु संख्या यकिन हुन नसकेको हो।
दुर्घटनापछि एक जना यात्रु भीरमा अड्किएको अवस्थामा देखिएको र उनको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। अन्य यात्रुहरूको अवस्था र क्षतिको विवरण संकलन भइरहेको छ।
प्रहरीका अनुसार गाडी तुलराम सुवेदी (२८), सुर्खेतका बासिन्दाले चलाएका थिए।