सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा खसेको फोर्स गाडी र यात्रुको खोजी पुनः सुरु, एक जनाको मृत्यु

२०८३ असार १९, ०२:३४ खबर संवाददाता

कर्णालीः बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजीका लागि आज बिहानदेखि पुनः उद्धार तथा खोजी कार्य सुरु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ः०० बजेदेखि घटनास्थलमा पुनः परिचालन भएका हुन्।

प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान ११ः३० बजेतिर कर्णाली नदी मा खसेको थियो। उक्त दुर्घटना दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित सडकखण्डमा भएको हो।

बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनका अनुसार कर्णाली नदीको जलसतह बढ्नुका साथै बहाव अत्यन्त तीव्र छ र पानी धमिलो भएकाले खोजीमा कठिनाइ भइरहेको छ। घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले अछाम जिल्लातर्फबाट खोजी गर्नुपरेको उनले बताए। खोजीकै क्रममा भिरमा अचेत अवस्थामा अड्किएका एक जना पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोटको पचाल झरना गाउँपालिका-९ का जेखे तिरुवा रहेको प्रहरीले जनाएको छ। 

खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली परिचालित छ।

प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे छुट्दा तीन जना यात्रु सवार थिए। दैलेखको डुङ्गेश्वरबाट दुई जना थपिएपछि चालक र सहचालकसहित अहिलेसम्म आधिकारिक रूपमा सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ।

उक्त गाडी करिब ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको छ। दुर्घटनास्थल प्रहरी चौकी दैलेखबाट करिब तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस