शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ
धनगढी: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया शिक्षामन्त्री सस्मित पोखरेलले समय नदिँदा रोकिएको छ। पदाधिकारी नियुक्तिका लागि आवश्यक सिनेट बैठक बस्न नसक्दा विश्वविद्यालयको नेतृत्व अझै टुंगो लाग्न सकेको छैन।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि सरकारले विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरेको थियो। समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य थिए। पछि प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो।
स्रोतका अनुसार सिफारिस समितिले अघिल्लो साता नै उपकुलपति र रजिष्ट्रारका लागि नाम सिफारिस गरिसकेको छ। तर, नियुक्तिका लागि आवश्यक सिनेट बैठक बोलाउन शिक्षामन्त्री पोखरेलले समय नदिएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।
यसबीच सरकारले केही दिनअघि अन्य विश्वविद्यालयका पदाधिकारी नियुक्त गरिसकेको भए पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी भने अझै नियुक्त भएका छैनन्। यसको प्रत्यक्ष असर विश्वविद्यालयको आगामी शैक्षिक योजनामा परेको छ।
विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षाको स्नातक तहको अध्ययन सुरु गर्ने तयारी गरिरहेको अवस्थामा नेतृत्व अभावका कारण योजना कार्यान्वयनमा अन्योल बढेको सरोकारवालाहरूले बताएका छन्।