कञ्चनपुरको क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु
धनगढीः कञ्चनपुरमा रहेको क्यासिनोमा लड्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–महेन्द्रनगरस्थित डायमण्ड क्यासिनोमा लडेर भारत उत्तराखण्ड राज्यको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार साँझ क्यासिनोभित्र लडेका सिंहलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार क्यासिनोमा लड्दा सुरुमा सिंहको अवस्था सामान्य देखिए पनि पछि एकाएक स्वास्थ्य अवस्था बिग्रिएको थियो। शव परीक्षणलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी शनिबार नै परिवारले शव बुझेर लगिसकेको जिल्ला प्रहरीले जनाएको छ।