बैतडीमा घर भत्किँदा गर्भवतीसहित एकै परिवारका तीन जना घाइते
बैतडीः बैतडीमा घर भत्किँदा गर्भवती महिलासहित एकै घरका तीन जना घाइते भएका छन्।
मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको दुईतले चारकोठे घरको मुख्य जुवा भाँचिएर बीचको तला भत्किँदा उनका दुई छोरी र एक बुहारी घाइते भएका हुन्। सोमबार बिहान करिब ४ बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए।
घर भत्किँदा १८ वर्षीया छोरी मनिषा पार्की, १३ वर्षीया छोरी चाँदनी पार्की र २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन्। घाइते प्रिया आठ महिनाको गर्भवती रहेको प्रहरीले जनाएको छ। प्रियाको ढाडमा चोट लागेको छ भने मनिषाको कम्मर र चाँदनीको घुँडामा चोट लागेको बताइएको छ।
घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। साथै, गोठमा बाँधिएका दुई वटा बाख्रा पनि घाइते भएका छन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।