लागुऔषध मुद्दा खेपेका गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँः लागुऔषध मुद्दा खेपिसकेका नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार गुप्ताले तीन करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। सोही मुद्दामा उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली, दुई श्रीमती शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
चार वर्षअघि अध्यक्ष गुप्ताविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दायर भएको थियो। व्यापारिक प्रतिशोधका कारण प्रहरी प्रयोग गरी दुई भारतीय नागरिकलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो।
२२ असार २०७९ मा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका–पिपरहियाबाट भारतीय नागरिक ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट २७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको दाबी प्रहरीको थियो।
तर अनुसन्धानका क्रममा उक्त घटना विवरण नै बनावटी भएको खुलेको थियो। कबाडी व्यापारको प्रतिस्पर्धाका कारण अध्यक्ष गुप्ताले आफ्ना प्रतिस्पर्धीलाई प्रहरीमार्फत लागुऔषध मुद्दामा फसाएको निष्कर्ष छानबिनबाट निकालिएको थियो।
प्रहरी अनुसन्धानअनुसार रामा गुप्ता नेपालमै कबाडी व्यापार गर्दै आएका थिए र विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासँग उनको व्यावसायिक साझेदारीसमेत थियो। दुवैले मिलेर एक मोटरसाइकल कम्पनीको कबाडी सामानको ठूलो ठेक्का हात पारेका थिए। सो ठेक्काबाट हुने आम्दानीको २० प्रतिशत, करिब डेढ करोड रुपैयाँ, रामालाई दिने सहमति भएको थियो। तर राजनीतिक प्रभाव प्रयोग गर्दै गुप्ताले उक्त रकम नदिएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको बताइएको छ।