मुख्यमन्त्रीले शाहले बोलाएको संसदीय दलको बैठकमा विष्ट पक्ष गएन
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे रणनीति तय गर्न बोलाएको नेपाली काँग्रेस संसदीय दलको बैठकमा उनकै पक्षका दुई मन्त्रीसहित केही सांसद अनुपस्थित भएका छन्।
मंगलबार बस्ने प्रदेशसभा बैठकमा बजेटमाथिको छलफललाई लक्षित गर्दै मुख्यमन्त्री शाहले सोमबार संसदीय दलको बैठक आह्वान गरेका थिए। तर सांसद दिवानसिंह विष्ट निकट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल, सामाजिक विकास मन्त्री बेलबहादुर राना तथा विष्ट पक्षका केही सांसद बैठकमा सहभागी भएनन्।
बैठकमा अर्को पक्षको अनुपस्थितिपछि मुख्यमन्त्री शाहले बजेटका विषयमा सबै पक्षसँग संवाद र सहमतिको आधारमा अघि बढ्ने निर्णय गरेका छन्। उनले बजेटमा देखिएका प्राविधिक त्रुटि सच्याइने र करिब डेढ अर्ब रुपैयाँभन्दा बढीका दोहोरिएका योजना हटाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई विश्वासमा लिएर बजेट पारित गर्ने रणनीति तय गरेको छ। सत्ता साझेदार एमालेसँग छलफल र सहमति गर्दै प्रतिपक्षी दलसँग पनि संवाद बढाउने निष्कर्ष बैठकले निकालेको एक सांसदले जानकारी दिए।
यता, बैठकमा सहभागी नभएको दिवानसिंह विष्ट पक्षले भने काँग्रेस र एमालेका शीर्ष नेताबीच बजेटका विवाद समाधानका लागि समन्वयको प्रयास भइरहेका बेला काँग्रेस संसदीय दलको मात्र बैठकको औचित्य नरहेको जनाएको छ।
विष्ट पक्षका एक सांसदका अनुसार सत्तारुढ काँग्रेस र एमालेको संयुक्त बैठक भएको भए त्यसको महत्व रहने भएकाले काँग्रेसको एकल बैठकमा सहभागी नहुने निर्णय गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर सत्ता साझेदार दलहरूबीच सहमति नजुट्दा बजेट हालसम्म प्रदेशसभामा छलफलका लागि टेबुल हुन सकेको छैन। बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले यसअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरिसकेको छ।