सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित १२ जना पक्राउ

file photo
file photo
२०८३ असार २८, १०:४२ खबर संवाददाता

कैलाली: कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार गरेको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई किशोरसमेत रहेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका गोदावरी नगरपालिका–६ लालपुरका २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्कालाई ३ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–२ सिसा पोस्ट नजिकबाट गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय बेद धामीसहित चार जनालाई ११० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध फेला पारेको हो।

धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट पनि २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरी पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, टिकापुर नगरपालिका–१ साथी अस्पताल नजिकबाट ३९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित १७ वर्षीय र १६ वर्षीय दुई किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट लम्कीचुहा नगरपालिका–८ गप्काका २७ वर्षीय महेन्द्र ओखेडा र मोहन्याल गाउँपालिका–६ सुगरखालका ३० वर्षीय उपेन्द्र जैशीलाई ३५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले सबै घटनामा बरामद लागूऔषधसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस