नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय तोकियो
काठमाडौँः विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि ८ वर्ष ६ महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप ६ महिना कैद तोकेको हो।
रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भने कायम गरेको छैन। घुस लिएको भनिएको रकम ३ करोड ८ लाख रुपैयाँलाई दामासाहीमा बाँडेर १ करोड ५४ लाख रुपैयाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।