जनकपुरमा विरोधपछि हर्क साम्पाङ जानकी मन्दिर प्रवेश गर्न पाएनन्
जनकपुरधामः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आइतबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको दर्शन गर्न नपाई फर्किएका छन्। हिन्दू सम्राट सेनाको विरोध प्रदर्शनका कारण मन्दिर परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएपछि प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई मन्दिर प्रवेश गर्न नदिएको हो।
साम्पाङ आइतबार बिहान करिब ११ बजे आफ्ना समर्थकसहित जानकी मन्दिर पुग्ने कार्यक्रम थियो। तर मन्दिर प्रवेश गर्नुअघि नै हिन्दू सम्राट सेनाका कार्यकर्ता र साम्पाङका समर्थकबीच धकेलाधकेल भएपछि स्थिति तनावग्रस्त बनेको थियो।
हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै उनलाई मन्दिर प्रवेश गर्न नदिने पूर्वघोषणा गरेको थियो। सोही क्रममा विरोध प्रदर्शन भएपछि सुरक्षाको अवस्था जटिल बनेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडप र अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले दुवै पक्षलाई संयमित बनाउँदै स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जनकपुरमा तनाव सिर्जना भएको बेला गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको भन्दै सरकारको आलोचना गरेका छन्।