एक वर्षमै तयार भयो कैलालीस्थित कर्णालीको झोलुङ्गे पुल
धनगढी: कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा एक वर्ष भित्रै झुलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। गत वर्षको साउनबाट सुरू भएको काम २०८२ जेठमा सम्पन्न भएको हो। कर्णाली नदीमा नयाँ झोलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ।
केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको पुल निर्माणका पहलकर्ता एवं स्थानीय व्यवसायी महेशराज जोशीले बताए। टीकापुर-१ घर भएका जोशीकै पहलमा कैलाली र बर्दिया जोड्ने पुल निर्माण भएको हो।
पुलमा तस्बिर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिनेहरूको भिड लाग्ने गरेको छ।
बर्दियाको दौलतपुर तथा कैलालीको टीकापुर जोड्ने दौलतपुर मल्टिस्पान झोलुङ्गे पुल निर्माण गर्न थानी निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो। दुई वर्षको ठेक्का अवधि रहेकामा कम्पनीले एक वर्षभन्दा अगाडि नै पुल निर्माणको काम सम्पन्न गरेको जोशीले बताए। ४८२ दशमलव २० मिटर लामो यो पुलको भारवहन क्षमता १७४ मेट्रिकटन रहेको छ। पुलमा एकै पटक एक हजार २४९ जनाले ओहोरदोहोर गर्न सक्ने बताइएको छ।
पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको जोशीले बताए। जोशीका अनुसार पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किलोमिटरमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ।
पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहजता भएको छ। पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ। यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने छ।
विसं २०८४ असार ११ गतेसम्म समय पाएको थानी निर्माण सेवाले ११ महिनामै काम सम्पन्न गरेको जनाएको छ। विसं २०८२ असार ११ गते सम्झौता भएको उक्त आयोजनाको काम सम्पन्न भई पुल सञ्चालन भएको निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए।
नेपाल सरकार, पूर्वधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा उक्त पुल निर्माण गरेको हो। पुलको उद्घाटन साउन महिनाभित्रै गरिने जोशीले बताए।