सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी सहायक हवल्दार प्रकाश सिंह महरा बने ‘पुलिस अफ द मन्थ’

२०८३ साउन ६, ०१:४४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले २०८३ साल असार महिनाका लागि प्रहरी सहायक हवल्दार (प्र.का.स.) प्रकाश सिंह महरालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

दार्चुला जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दी भई हाल प्रहरी चौकी जोलजीवीमा कार्यरत महराले महाकाली नदीमा हाम फालेकी एक महिलाको साहसपूर्वक सकुशल उद्धार गरेपछि उनको उत्कृष्ट कार्यको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रशंसापत्रअनुसार २०८३ साल असार २१ गते साँझ करिब ६:३० बजे दार्चुलाको मालिकार्जुन गाउँपालिका–७, जोलजीवी क्षेत्रमा खलंगा बजारबाट घर फर्किने क्रममा मालिकार्जुन गाउँपालिका–८, धर्मपानी निवासी ३६ वर्षीय करण कोली र उनकी २६ वर्षीया श्रीमती विमला कोलीबीच सामान्य विवाद भएको थियो। सोही क्रममा विमला कोलीले महाकाली नदीमा हाम फालेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जोलजीवीबाट तत्काल खटिएका प्रहरी सहायक हवल्दार महराले आफ्नो ज्यानको समेत पर्वाह नगरी नदीमा प्रवेश गरी विमला कोलीको सकुशल उद्धार गरेका थिए।

उक्त साहसिक कार्य, कर्तव्यनिष्ठा र मानव जीवन रक्षामा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले महरालाई २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेका हुन्।

कमेन्ट लोड गर्नुस