धनगढीमा ‘एनसेल सेन्टर फाेफो’ सञ्चालनमा, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा
धनगढी: एनसेल आजियाटा लिमिटेडले धनगढीमा ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’ अवधारणाअन्तर्गत पहिलो एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सेन्टरबाट एनसेलका सम्पूर्ण ग्राहक सेवा तथा मोबाइल फोनसँग सम्बन्धित विभिन्न सामग्री एकै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्थानीय व्यवसायीको सहकार्यमा सञ्चालनमा आएको सेन्टर ‘लोककली ओड, वार्ड नम्बर ४, एनसेल सिममा’ अवस्थित छ। यहाँ ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम सक्रियकरण, केवाईसी अद्यावधिक, बिल भुक्तानीलगायत सम्पूर्ण ग्राहक सेवा लिन सक्नेछन्।
साथै मोबाइल फोन तथा विभिन्न एक्सेसरिज पनि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
यस सेन्टरको उद्घाटन एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले पहिलो फाेफो स्टोर सञ्चालनले देशभर सेवा पहुँच विस्तार गर्ने, स्थानीय साझेदारसँगको सम्बन्ध अझ सुदृढ बनाउने तथा ग्राहक अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको प्रतिबद्धता झल्काएको बताइन्। धनगढीका ग्राहकलाई उत्कृष्ट सेवा दिन पाउँदा कम्पनी उत्साहित रहेको उनको भनाइ थियो।
त्यस्तै कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नयाँ अवधारणासहित सञ्चालनमा आएको यो सेन्टर ग्राहकलाई थप सहज र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदम भएको बताइन्। स्थानीय व्यवसायीसँग सहकार्य गर्दै ग्राहकलाई नजिकबाट सेवा प्रदान गर्ने लक्ष्यका साथ यस्तो अवधारणा अघि बढाइएको उनले उल्लेख गरिन्।
कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइल एपमार्फत सञ्चालन गरेका योजनासम्बन्धी थप जानकारी आवश्यक परे नजिकैको स्टोरबाट प्रत्यक्ष सहयोग प्राप्त गर्न सक्नेछन्। यसले कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास एनसेलले लिएको छ।
एनसेलले स्थानीय व्यवसायी र उनीहरूका साझेदारलाई प्रोत्साहन दिँदै भविष्यमा पनि यस्ता फाेफो सेन्टर देशका अन्य स्थानमा विस्तार गर्ने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार यस अवधारणाले ग्राहकलाई एकै स्थानबाट धेरै सेवा उपलब्ध गराउनुका साथै स्थानीय उद्यमशीलता प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।