टीकापुरको बाणीघाटबाट भन्सार छलीका ट्याक्टर पार्टपुर्जा बरामद
टीकापुर: कैलालीको टीकापुर नगरपालिका–६ स्थित बाणीघाट पुल क्षेत्रबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका ट्याक्टरका पार्टपुर्जा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी जवान धर्मबहादुर साउदको कमाण्डमा खटिएको टोलीले साउन ६ गते दिउँसो करिब १२:३० बजे बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा ६ थान वाइल फिल्टर एसेम्ब्ली, ४ सेट सोल्जर फिल्टर फिट, १ थान एयर फिल्टर, १ सेट ब्रेक डिस्क, १ थान लाइट स्विच, १ थान लक किट, १ थान स्टप केबल, ३४ थान टल्ली क्लिप, १ थान फाइन बोल्ट, १ प्याकेट स्प्रिङ र ४ थान वाइल सिल रहेका छन्।
बरामद गरिएका ट्याक्टर पार्टपुर्जाको अनुमानित मूल्य रु. २५ हजार ३०० रहेको प्रहरीले जनाएको छ। उक्त सामान इलाका प्रहरी कार्यालय टीकापुरमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि भन्सार कार्यालय सत्ती पठाउने तयारी गरिएको छ।