सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा अषाढी जात्रा सुरु, भक्तजनको घुइँचो

२०८३ साउन ७, ०१:०४ खबर संवाददाता

बैतडी: बैतडीस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा सुरु भएको छ। हरेक वर्ष असार शुक्ल अष्टमी र नवमीका दिन मनाइने यो जात्रा यस वर्ष अधिकमासका कारण साउन महिनामा परेको हो।

परम्पराअनुसार असार शुक्ल अष्टमीको राति भगवतीको विशेष पूजाआजा गरिन्छ भने नवमीका दिन मुख्य जात्रा लाग्छ। जात्राका क्रममा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँस्थित मन्दिरसम्म भगवतीको सवारी निकाल्ने चलन छ। कापडीमा पूजा सम्पन्न भएपछि भगवतीलाई पुनः मूल मन्दिरमा फिर्ता ल्याइन्छ।

जात्राका अवसरमा राँगा र बोकाको बलि दिने परम्परा पनि रहिआएको छ। त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष बडादशैँ, कार्तिक शुक्ल अष्टमी, चैते दशैँ तथा अषाढी जात्राका अवसरमा विशेष मेला र जात्रा लाग्ने गर्दछ।

यस धार्मिक उत्सवमा नेपालका विभिन्न जिल्लाका भक्तजनका साथै सीमावर्ती भारतीय क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालु दर्शनका लागि आउने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस