सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अर्गानिक ड्रागन खेतीमा रिता अवस्थीको सफलता, बजारभन्दा सस्तो मूल्यमा विषादीरहित फल बिक्री

२०८३ साउन ८, ०१:३६ लक्ष्मण ढुङ्गाल

धनगढी: "विदेश जानुभन्दा आफ्नै देशमा केही गरौँ" भन्ने सोचलाई व्यवहारमा उतार्दै धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी रिता अवस्थी अर्गानिक ड्रागन फल खेतीबाट सफल उद्यमी कृषकका रूपमा चिनिन थालेकी छन्। उनले उत्पादन गरेको विषादीरहित ड्रागन फल बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्दै उपभोक्तालाई स्वस्थकर फल उपलब्ध गराइरहेकी छन्।

अवस्थीले धनगढी उपमहानगरपालिका–३ त्रिभुवन चोकको पुर्वतर्फ करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा ड्रागन फल खेती गर्दै आएकी छन्। कृषिप्रति विशेष रुचिका कारण केही वर्षअघि परीक्षणका रूपमा सुरु गरेको खेती अहिले सफल व्यवसायमा परिणत भएको हो।

उनले रासायनिक मल र विषादीको प्रयोग नगरी गोबर मल, कम्पोस्ट तथा अन्य जैविक मलको प्रयोग गरेर पूर्ण रूपमा अर्गानिक विधिबाट ड्रागन फल उत्पादन गरिरहेकी छन्। अर्गानिक उत्पादन भएकाले स्वाद, गुणस्तर र पोषणका हिसाबले उपभोक्ताको विश्वास पनि बढ्दै गएको छ।

उपभोक्तालाई सहज मूल्यमा स्वस्थकर फल उपलब्ध गराउने उद्देश्यले अवस्थीले आफ्नो उत्पादन बजारमा प्रचलित मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएकी छन्। बगैंचाबाटै प्रत्यक्ष बिक्री गर्ने व्यवस्था मिलाएकाले बिचौलियाको लागत घटेको छ भने उपभोक्ताले पनि ताजा फल उचित मूल्यमा पाउने गरेका छन्।

अवस्थीले २०७९ सालमा भारतको कोलकाताबाट ड्रागन फलका बिरुवा ल्याएर खेती सुरु गरेकी थिइन्। हाल उनको फार्ममा करिब तीन हजार बिरुवा रहेका छन्। ड्रागन फलसँगै उनले मेवा, भुइँकटहर, अम्बा र अङ्गुरको समेत उत्पादन गरिरहेकी छन्।

यद्यपि यस वर्ष वैशाखदेखिको अत्यधिक गर्मी र साउनमा परेको वर्षाका कारण केही क्षति पुगेको उनले बताइन्। त्यसका बाबजुद उत्पादनबाट राम्रो आम्दानी हुने अपेक्षा रहेको उनको भनाइ छ।यो भन्दा पछिल्लो लटमा पाँच लाखसम्मको फल बिक्रि भइसकेपछि उनलाई थप हौसला मिलेको छ ।

अवस्थीले कृषि क्षेत्रको विकासका लागि सरकारले अनुदान, समयमै मलको उपलब्धता र भरपर्दो सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन्। विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै देशमा कृषि तथा उद्यममार्फत आत्मनिर्भर बन्न उनले युवालाई आग्रह गरेकी छन्। साथै प्रत्येक घरपरिवारले आफ्नै करेसाबारीमा अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्न सके विषादीयुक्त आयातित खाद्यवस्तुमा निर्भर हुन नपर्ने उनको विश्वास छ।

स्वास्थ्यप्रति सचेत उपभोक्ताको संख्या बढ्दै जाँदा अर्गानिक उत्पादनको माग पनि बढिरहेको छ। रिता अवस्थीको सफलताले मेहनत, लगनशीलता र आधुनिक सोचका साथ कृषि गरे स्वदेशमै सम्मानजनक आम्दानी गर्न सकिने स्पष्ट सन्देश दिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस