सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकको पहलले बदलिँदै जमरा किनार, विश्वशान्ति योग आश्रम आकर्षणको केन्द्र बन्दै

२०८३ साउन १०, ०१:३२ खबर संवाददाता

टीकापुर: नागरिकको सामूहिक पहल, सहयोग र श्रमदानबाट टीकापुरको जमरा किनारमा रहेको विश्वशान्ति योग आश्रम पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ।

लम्की–टीकापुर सडकखण्डअन्तर्गत जमरा पुलको उत्तरतर्फ रहेको आश्रम हरियाली, फूलबारी, खुला परिसर र शान्त वातावरणका कारण स्थानीय तथा बाह्य आगन्तुकको रोजाइमा पर्न थालेको हो। प्राकृतिक सौन्दर्यले भरिएको यस क्षेत्रले आगन्तुकलाई शान्त र रमणीय वातावरण प्रदान गर्दै आएको छ।

आश्रमका संस्थापक दीर्घराज गिरीको पहलमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताको सहकार्यमा आश्रमको विकास हुँदै आएको छ। सरकारी लगानीबिना नागरिकको सहयोग, श्रमदान र सामूहिक प्रयासबाट निर्माण तथा विकास भइरहेको विश्वशान्ति योग आश्रम नागरिक सहभागिता र सामाजिक समर्पणको उदाहरण बनेको छ।

आश्रममा योग, ध्यान, स्वास्थ्य, सकारात्मक सोच र स्वस्थ जीवनशैलीसँग सम्बन्धित गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। साथै, शान्त वातावरण र खुला परिसरका कारण विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिका लागि पनि आश्रम उपयोगी बन्दै गएको छ।

संस्थापक गिरीका अनुसार आश्रम परिसरमा बैठक, छलफल, मिटिङ, विभिन्न कार्यक्रम, पिकनिक, भेटघाट तथा टिकटक र अन्य सिर्जनात्मक सामग्री निर्माणका लागि समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। सामाजिक तथा सामुदायिक उद्देश्यका गतिविधिका लागि कुनै शुल्क नलिइने जनाइएको छ।

नागरिकको सहयोग र सामूहिक प्रयासबाट विस्तार हुँदै गएको विश्वशान्ति योग आश्रमले जमरा किनारको पहिचानलाई समेत थप उचाइ दिएको छ। योग, ध्यान, स्वास्थ्य, सामाजिक सहकार्य र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा जोड्दै आश्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने प्रयास भइरहेको छ।

स्थानीयको सक्रियता र सहयोग निरन्तर बढ्दै गएमा विश्वशान्ति योग आश्रम टीकापुरको मात्र नभई कैलालीकै महत्वपूर्ण शान्ति, स्वास्थ्य तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

विश्वशान्ति योग आश्रम
स्थान : जमरा किनार, टीकापुर–१, कैलाली

कमेन्ट लोड गर्नुस