सुदूर नेपाललाई विश्वसँग जोड्दै

लट्कनिया-विलासपुर सडक  हिलाम्मे हुँदा स्थानीयलाई सास्ती

२०८३ साउन ११, ०२:३६ लक्ष्मण ढुङ्गाल

कैलाली: कैलाली जिल्ला  जानकी गाउँपालिका–७ स्थित लट्कनिया भुल टोल हुँदै विलासपुर जाने सडक लामो समयदेखि ग्राभेलसमेत नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्।

वर्षायाममा सडक हिलाम्मे हुने, सडकमा पानी जम्ने तथा ठूला–ठूला खाल्डाखुल्डी पर्ने भएकाले आवतजावत गर्न निकै कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन्। बजारबाट घरतर्फ फर्किने क्रममा सडकको दुरवस्थाका कारण सर्वसाधारण, विद्यार्थी तथा मोटरसाइकल चालकहरू बढी प्रभावित हुने गरेका छन्।

स्थानीय चक् भुलले चुनावका बेला नेताहरूले सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँदै मत मागे पनि निर्वाचित भएपछि जनप्रतिनिधिहरूले सडकको अवस्थाबारे चासो नदिएको गुनासो गरे।

उनले कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी तथा वडा नं. ७ का वडा अध्यक्षलाई एकपटक स्थलगत निरीक्षण गरी सडकको समस्या समाधान गर्न आग्रह गरेका छन्।

“धेरै अपेक्षा छैन, सडकमा नाला काटेर सामान्य ग्राभेल मात्रै गरिदिए पनि स्थानीयलाई ठूलो राहत हुने थियो,” भुलले भने।

लट्कनिया भुल टोल हुँदै विलासपुर जाने सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस