सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

२०८३ साउन १५, ०३:४५ रासस

काठमाडौँः विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरेका हुन्। 

उनीहरूले सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गरेका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गरिएको छ। 

संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्। 

'सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु हो। कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो,' संयुक्त अपिलमा भनिएको छ। 

उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडितपरिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन्। 

'विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अनुरोध गर्दछौँ', संयुक्त अपिलमा भनिएको छ।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै उनीहरूले यहाँका धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार भएको बताए। 'कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ', अपिलमा भनिएको छ। 

सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद् घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै उहाँहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा निधन भएकामा श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ। 

कमेन्ट लोड गर्नुस