बझाङमा बहुविवाह मुद्दामा फरार रहेकी महिला जेल चलान
धनगढी: बहुविवाह मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी बझाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१०, चैनपुरकी ३१ वर्षीया लक्ष्मी कुमारी वलीलाई बुधबार साँझ पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत बझाङले बिहीबार बहुविवाह मुद्दामा १ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना तथा २०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
अदालतको फैसला पश्चात फरार रहेकी वलीलाई प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेपछि स्वास्थ्य परीक्षण गराई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनलाई बिहीबार जिल्ला अदालत बझाङमा उपस्थित गराइएको थियो। बिहीबार नै उनलाई कैद भुक्तानी गर्न अदालतले कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए। वलीलाई कैद भुक्तानका लागि डडेल्धुरा कारागार चलान गरिएलो प्रवक्ता विष्टले बताए।