सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुगेडामा क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन,‘च्याम्पियन्स–३६’ अभियान विस्तार

२०८३ साउन १७, ११:३४ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–१२ जुगेडामा हनुमाननगर युवा क्लबद्वारा सञ्चालित क्रिकेट ट्रेनिङ सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको छ।

क्लबका अध्यक्ष बालकृष्ण अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले क्रिकेट नेट अभ्यास क्षेत्रको उद्घाटन गरेका हुन्।

स्थानीय बालबालिका तथा युवालाई नियमित प्रशिक्षणमा जोड्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने र तल्लो तहबाटै क्रिकेटको आधार बलियो बनाउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ।

सेन्टरलाई सुवास शाहीको नेतृत्वमा सञ्चालित ‘#Champions36’ अभियानसँग जोडिएको छ। अभियानको लक्ष्य सन् २०३६ सम्म नेपाललाई आईसीसी टी–२० विश्वकप च्याम्पियन बनाउने रहेको छ। यसअघि अभियानमार्फत क्लबलाई अभ्यासका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइएको थियो भने अब सुरुवाती तीन महिनासम्म राष्ट्रिय टोलीबाट खेलिसकेका युवा क्रिकेटर विपिन रावलले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा बोल्दै शाहीले स्थानीय स्तरका यस्ता पहलले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा टेवा पुग्ने बताए। क्लबका अध्यक्ष अवस्थीले अभियानबाट प्राप्त सहयोगले स्थानीय खेलाडीलाई नियमित प्रशिक्षणमा जोड्न सहज भएको बताए।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष स्वर्गीय रविन्द्र बहादुर सिंहलाई ‘हनुमाननगर स्मृति सम्मान’ मरणोपरान्त प्रदान गरिएको थियो। साथै, तेक्वान्दो खेलाडी दीपा जैसीलाई पनि सम्मान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस