सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

२०८३ साउन २१, १०:२० खबर संवाददाता

चितवनः चितवनको इच्छाकामना गाउँपालिकाबाट प्रहरीले २० किलो चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन क्षेत्रमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का ४१ वर्षीय मोहन गोले र सोही स्थानका ३१ वर्षीय भीमबहादुर स्याङतान रहेका छन्।

प्रहरीले उनीहरूले बोकेको झोला जाँच गर्ने क्रममा टेपले बेरिएका ४० पोका चरेसजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ तौल गर्दा प्रतिव्यक्ति १० किलोका दरले कुल २० किलो रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कमेन्ट लोड गर्नुस