डेराको कोठामा शिक्षक मृत फेला
सल्यानः सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका–७ कोदालचौर घर भई हाल बागचौर नगरपालिका–६ ठुलाहिममा डेरा गरी बस्दै आएका ४८ वर्षीय शिक्षक हरिबहादुर वली मृत अवस्थामा फेला परेका हुन्। उनी ठुलाहिमस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत थिए।
प्रहरीका अनुसार मङ्गलबार साँझ खाना खाएर सुतेका वली बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा नउठेपछि अचेत अवस्थामा रहेको भन्दै इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो।
सूचना पाएपछि प्रहरी सहायक निरीक्षक निरज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेर जाँच गर्दा वलीको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।