जेन्जी आन्दोलनमा कारागारबाट भागेका फरार प्रतिवादी गड्डाचौकी नाकाबाट पक्राउ
कञ्चनपुरः लागूऔषध (खैरो हेरोइन) मुद्दामा १० वर्ष ३ महिना कैद सजाय पाएर कारागारबाट फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुर जिल्ला अदालतको २०८१ पुस १९ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा १० वर्ष ३ महिना कैद सजाय भई कञ्चनपुर कारागारको कैदखानामा रहेका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहु २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए।
फरार शाहुलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको हो। पक्राउपछि शाहुलाई बाँकी कैद सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।