सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमामा साइकलमा मल र तोरी ओसार्दा सात पक्राउ, किसान दोहोरो समस्यामा

२०८३ साउन २३, १०:४२ खबर संवाददाता

धनगढीः  नेपाल–भारत सीमाक्षेत्रमा कृषि सामग्री ओसारपसारका क्रममा दुवै देशका प्रहरीले सात जना नागरिकलाई पक्राउ गरेका छन्। भारततर्फ तीन बोरा युरिया मलसहित तीन नेपाली र नेपालतर्फ करिब साढे तीन क्विन्टल तोरीसहित चार भारतीय नागरिक पक्राउ परेका हुन्।

दुवै घटनामा पक्राउ परेकाहरू साइकलमा मल र तोरी बोकेको अवस्थामा नियन्त्रणमा परेका थिए। घटनापछि सीमावर्ती क्षेत्रमा घरायसी तथा कृषि प्रयोजनका लागि हुने सानो परिमाणको ओसारपसारलाई पनि तस्करीको रूपमा कारबाही गरिएको भन्दै बहस सुरु भएको छ।

कैलाली र कञ्चनपुरका किसानले एकातिर मल नपाउने समस्या छ भने अर्कोतिर व्यक्तिगत प्रयोजनका लागि भारतबाट मल ल्याउँदा तस्करको आरोप खेप्दै पक्राउ पर्ने जोखिम छ। नेपाल र भारतका प्रहरीले सीमावर्ती क्षेत्रमा दुबै देशका किसानलाई दुःख दिने गरेका छन्।

भारतको लखिमपुर खिरी प्रहरीले ६ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार तीन बोरा युरिया मल र मल ओसार्न प्रयोग गरिएका तीन साइकलसहित बेलौरी नगरपालिका–२, गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरी पक्राउ परेका थिए।

स्थानीयका अनुसार उनीहरू बिक्रीका लागि ठूलो परिमाणमा मल ओसार्ने तस्कर नभई साइकलमा एक–एक बोरा मल बोकेर सीमापारि गएका थिए। आफन्तले नेपालमा मल अभाव भएपछि आफ्नै खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउन गएको दाबी गरेका छन्।

यता, सुदूरपश्चिम प्रदेश प्रहरीले २२ साउनमा सार्वजनिक गरेको विवरणअनुसार २१ साउनमा बेलौरी नगरपालिका–१ को सीमा क्षेत्रबाट भारतबाट नेपालतर्फ तोरी ल्याउँदै गरेका चार भारतीय नागरिक पक्राउ परेका थिए। भारतको लखिमपुर खिरी जिल्लास्थित बसही कलौनीका सन्तोष कुमार, सञ्जय कुमार, अनुप कुमार गुप्ता र मनोज कुमार पक्राउ परेका हुन्। उनीहरूको साथबाट चार साइकल र करिब साढे तीन क्विन्टल तोरी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकका आफन्तले भने नेपालमा तेल पेलाउनका लागि तोरी ल्याइएको दाबी गरेका छन्। विगतदेखि नै सीमावर्ती क्षेत्रमा यसरी सानो परिमाणमा तोरी ल्याउने प्रचलन रहेको उनीहरूको भनाइ छ।

‘ठूला तस्कर उम्किन्छन्, किसान पक्राउ पर्छन्’
दुवै घटनाका आफन्त तथा स्थानीयले सीमावर्ती क्षेत्रमा परम्परादेखि हुँदै आएको कृषि सामग्रीको सानो परिमाणको ओसारपसारलाई संगठित तस्करीसँग तुलना गर्न नहुने बताएका छन्।

उनीहरूको आरोप छ, 'ठूला तस्करहरू उम्किरहेका छन्, तर गरिब किसान कारबाहीको निशानामा परिरहेका छन्।'

कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले भने सीमा क्षेत्रमा हुने गैरकानुनी ओसारपसार नियन्त्रणका लागि कानुनअनुसार कारबाही गरिएको बताए।

'गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ। आज साइकलमा हुने सानो तस्करीलाई बेवास्ता गर्दा भोलि त्यसले ठूलो रूप लिन सक्छ,' उनले भने।

उनका अनुसार सानो वा ठूलो जुनसुकै प्रकारको गैरकानुनी ओसारपसार नियन्त्रण गर्नु प्रहरीको दायित्व हो।

तर स्थानीयले भने ठूलो परिमाणमा हुने अवैध कारोबारको तुलनामा किसान तथा साना ओसारपसारकर्तामाथि मात्रै बढी निगरानी र कारबाही भइरहेको प्रश्न उठाएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कञ्चनपुरबाट करिब १७ करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद भएका थिए। नेपाल प्रहरीले १८ जनालाई पक्राउ गरी करिब ६ करोड १५ लाख ३८ हजार ६१७ रुपैयाँ बराबरका सामग्री बरामद गरेको थियो। सशस्त्र प्रहरीले भने ११ करोड ७२ लाख २५ हजार ३३४ रुपैयाँ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको थियो।

यही तथ्यांकलाई देखाउँदै स्थानीयले ठूलो परिमाणको अवैध कारोबार नियन्त्रणसँगै कृषि प्रयोजनका लागि सीमापारिबाट सानो परिमाणमा सामग्री ल्याउने किसानको अवस्थालाई पनि छुट्टै ढंगले हेर्नुपर्ने बताएका छन्।

मल अभावले किसान सीमापार जान बाध्य
स्थानीय किसान  सुरेन्द्र विष्टले सरकारले किसानलाई आवश्यक परेको समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा भारतबाट मल ल्याउने अवस्था सिर्जना भएको बताए।

'किसानलाई आवश्यक भउको बेला मल नपाउँदा यस्तो अवस्था सिर्जना भएको हो। सरकारले समयमै मलको आपूर्ति सुनिश्चित गर्नुपर्छ,' उनले भने।

बेलौरीका किसान रामसागर रानाले पनि मल र बिउबिजन सहज रूपमा उपलब्ध गराउन नसक्दा समस्या दोहोरिरहेको बताए। ' हामीले विगतदेखि नै मल नपाउने समस्या भोग्दै आएका छौँ। मल ल्याउन गएका किसानलाई तस्कर भनेर पक्राउ गरिन्छ, जुन दुःखद हो। सरकारले किसानलाई समयमै आवश्यक मल र बिउ उपलब्ध गराउन सक्नुपर्छ,' उनले भने।

अर्का किसान महेश जोशीले आफ्नै देशमा मल नपाएपछि किसान भारत जान बाध्य भएको बताए। 'बिक्रीका लागि नभई आफ्नै खेतबारीका लागि ल्याएको मलसमेत जफत हुनु किसानमाथिको अन्याय हो, यस्तो अन्याय प्रहरी प्रशासनले गर्दै आएको छ,' उनले भने।

‘किसानलाई अपराधीसरह व्यवहार भयो’
बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलवीर चौधरीले किसानलाई ठूलो अपराधीसरह पक्राउ गरी मुद्दा चलाइनु दुःखद भएको बताए।

उनका अनुसार नेपाल र भारत दुवैतर्फ समयमै रासायनिक मल उपलब्ध नहुँदा सीमावर्ती किसान समस्यामा परिरहेका छन्। पक्राउ परेका तीन नेपालीलाई भारतीय पक्षले जनही एक हजार रुपैयाँ जरिवाना गरेर रिहा गरेको उनले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा भएका यी दुई घटनाले कृषि सामग्रीको अभाव, सीमापार हुने सानो परिमाणको ओसारपसार र कानुन कार्यान्वयनबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न फेरि उठाएको छ। किसानले आवश्यक मल र बिउ सहज रूपमा पाउने व्यवस्था नहुँदासम्म सीमावर्ती क्षेत्रमा यस्ता घटना दोहोरिरहने स्थानीयको भनाइ छ।

कमेन्ट लोड गर्नुस