अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटरमा धनगढीका दीपक हमाल उत्कृष्ट २० मा पर्न सफल
धनगढीः अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’ का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा धनगढीका युवा डेरी तथा आइसक्रिम उद्यमी दीपक हमाल पर्न सफल भएका छन्।
उनी उत्कृष्ट २० मा छनोट हुने सुदूरपश्चिम प्रदेशका एकमात्र उद्यमी हुन्। कैलालीको धनगढीमा ‘प्रतिज्ञा डेरी एन्ड आइसक्रिम उद्योग’ सञ्चालन गर्दै आएका हमालले ‘दामी ट्रीट्स’ ब्रान्डमार्फत दुग्धजन्य पदार्थ, परम्परागत नेपाली मिठाई, प्राकृतिक आइसक्रिम, बेल्जियन वाफल तथा बेकरी उत्पादन गर्दै आएका छन्।
'देशभरका उत्कृष्ट उद्यमीहरूसँगै राष्ट्रिय मञ्चमा धनगढी र सुदूरपश्चिमको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ,' हमालले भने, 'यूएस एम्बेसीको इन्टरप्रेनरशिप स्किल बिल्डिङ प्रोग्रामदेखि क्यापस्टोन एक्सेलेरेटरसम्मको यात्रामा सिकेका कुरा, मेन्टरबाट पाएको मार्गदर्शन र देशभरका उद्यमी तथा व्यवसायिक नेतृत्वसँग बनेको नेटवर्कले मेरो उद्यमशीलताको यात्रामा ठूलो सहयोग गरेको छ।'
उनले ‘दामी ट्रीट्स’ लाई सुदूरपश्चिमको बलियो र गौरव गर्न सकिने ब्रान्डका रूपमा विकास गर्दै नेपालभर विस्तार गर्ने लक्ष्य रहेको बताए।
पारिवारिक डेरी व्यवसायलाई आधुनिक ब्रान्डमा विस्तार
३१ वर्षीय हमाल दोस्रो पुस्ताका उद्यमी हुन्। सामाजिक कार्यमा स्नातक गरेका उनले करिब एक दशकदेखि पारिवारिक डेरी व्यवसायको नेतृत्व गर्दै आएका छन्। बाल्यकालदेखि नै डेरी उद्योगसँग जोडिएका हमालले आधुनिक प्रविधि, नयाँ उत्पादन र नवप्रवर्तनलाई जोड्दै पारिवारिक व्यवसायलाई ‘दामी ट्रीट्स’ ब्रान्डका रूपमा विस्तार गरेका हुन्।
दामी ट्रीट्सले धनगढी तथा आसपासका क्षेत्रमा बजार उपस्थिति र ग्राहकको विश्वास स्थापित गरिसकेको छ। कम्पनीले अब उत्पादन क्षमता विस्तार, वितरण सञ्जाल सुदृढीकरण तथा नयाँ बजारमा प्रवेश गर्दै नेपालको डेरी तथा डेजर्ट क्षेत्रमा अग्रणी एफएमसीजी ब्रान्ड बन्ने लक्ष्य राखेको छ।
क्यापस्टोन एक्सेलेरेटरमा हमालले दामी ट्रीट्सको व्यवसायिक यात्रा, उत्पादनको विशेषता, बजार विस्तारको योजना, नवप्रवर्तन, लगानीको सम्भावना तथा भविष्यको व्यवसायिक रणनीतिबारे प्रस्तुति दिएका थिए।
२०० भन्दा बढी उद्यमीबाट उत्कृष्ट २० छनोट
नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय उद्यमशीलता कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० जना राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए।
तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा हमालले सुदूरपश्चिमको प्रतिनिधित्व गरेका थिए।
कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, अन्तर्राष्ट्रिय बजारमा पहुँच, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
अन्तरक्रियात्मक मास्टरक्लास, मेन्टरिङ, सहकर्मीबीच सिकाइ तथा पिच कोचिङमार्फत सहभागीहरूले आफ्ना व्यवसायिक रणनीतिलाई थप परिष्कृत गरेका थिए।
यसअघि क्षेत्रीय कार्यशालापछि कानुनी अनुपालन, निर्यात तयारी, एआईमा आधारित व्यवसाय विस्तार तथा डिजिटल मार्केटिङसम्बन्धी भर्चुअल मास्टरक्लाससमेत सञ्चालन गरिएको थियो।
लगानीकर्ता र उद्योगीसमक्ष दामी ट्रीट्सको प्रस्तुति
कार्यक्रमको अन्तिम दिन आयोजित ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’मा हमालसहित २० उद्यमीले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए।
हमालले दामी ट्रीट्सको बजार सम्भावना, उत्पादन विस्तार, नवप्रवर्तन, वितरण सञ्जाल तथा भविष्यको व्यवसायिक योजनाबारे प्रस्तुति दिएका थिए।
पिचिङ सत्रमा सहभागी उद्यमीहरूले आफ्नो व्यवसायको विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे विज्ञहरूबाट व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।
‘क्यापस्टोन मेनस्ट्रीट शोकेस’मा उत्पादन प्रदर्शनी
कार्यक्रमअन्तर्गत सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेनस्ट्रीट शोकेस’मार्फत आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरेका थिए।
अमेरिकी ‘मेनस्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र नेटवर्किङ गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चिफ माइक हार्करले क्यापस्टोन शोकेस कार्यक्रमको समापन मात्र नभई अमेरिका र नेपालबीचको आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण भएको बताए।
उनले नवीन सोच भएका नेपाली उद्यमीमा लगानी गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने प्रयास भइरहेको बताए।