शिवपुरी धाममा अनेरास्ववियु ऐश्वर्य क्याम्पस कमिटीको बृहत् सरसफाइ
धनगढी: धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी धाममा अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले बृहत् सरसफाइ गरेको छ ।
साउन महिनाको अन्तिम सोमबारका अवसरमा शिवपुरी धाममा पूजाआजा गर्न आएका भक्तजनले प्रयोग गरेका विभिन्न सामग्री तथा वस्तुहरू धाम परिसरमै छोड्दा फोहोर बढेको थियो । त्यसपछि अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले सरसफाइ अभियान सञ्चालन गरी धाम परिसरको फोहोर व्यवस्थापन गरेको हो ।
कमिटीका अध्यक्ष विनोद जोशीको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा विद्यार्थी तथा कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सरसफाइपछि शिवपुरी धाम परिसर थप व्यवस्थित र आकर्षक देखिएको छ ।
अध्यक्ष जोशीले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सरसफाइमा सबै नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बताए । धार्मिक स्थललाई सफा र व्यवस्थित राख्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
सरसफाइ अभियानप्रति शिवपुरी धाम मन्दिर व्यवस्थापन समितिले समेत धन्यवाद व्यक्त गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा विद्यार्थी संगठनले देखाएको सक्रियताले सकारात्मक सन्देश दिएको व्यवस्थापन समितिको भनाइ छ ।