धनगढीमा टाटा पन्च ईभी सार्वजनिक, ३२ लाख ९९ हजार मुल्यदेखि शुरु
धनगढी: अत्याधुनिक फिचर्स, ठूलो ब्याट्री क्षमता र सुरक्षामा विशेष ध्यान दिइएको नयाँ टाटा पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मंगलबार देशभरका आधिकारिक डिलरमार्फत एकैसाथ नयाँ पन्च ईभी सार्वजनिक गरेको हो। धनगढीमा पनि सुदूरपश्चिम प्रदेशको आधिकारिक डिलर जीएआरएस ट्रेडिङ कन्सर्नमा नयाँ पन्च ईभी सार्वजनिक गरिएको छ।
नयाँ पन्च ईभीमा ४० किलोवाट क्षमताको ब्याट्री र ९५ किलोवाटको मोटर जडान गरिएको कम्पनीले जनाएको छ। गाडीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग तथा ५–स्टार सेफ्टी रेटिङ रहेको बताइएको छ।
नेपाली सडकको अवस्थालाई समेत ध्यानमा राखेर गाडीलाई थप उपयोगी बनाइएको कम्पनीको दाबी छ। गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने भएकाले परिवारका सदस्य, विशेषगरी वृद्धवृद्धा तथा बालबालिकालाई गाडीमा चढ्न–ओर्लन सहज हुने सिप्रदी ट्रेडिङ प्रालिका डिलर इन्चार्ज कपिल बोगटीले बताए।
उनका अनुसार नयाँ पन्च ईभीमा ठूलो ब्याट्री क्षमता, पर्याप्त ग्राउन्ड क्लियरेन्स र सुरक्षाका आधुनिक विशेषता समावेश भएकाले नेपाली बजारमा ग्राहकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
नयाँ पन्च ईभी फेसलिफ्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। गाडी पाँचवटा कलर अप्सनमा उपलब्ध हुने बताइएको छ।
अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, ठूलो ब्याट्री क्षमता र सुरक्षा विशेषतासहित आएको नयाँ पन्च ईभीले नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।