स्रोत नखुलेको करिब ८० लाख नगदसहित एक जना नियन्त्रणमा
काठमाडौँः स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टर पसलमा स्रोत नखुलेको हुन्डी रकम कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
प्रहरी वृत्त कालीमाटी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले फलफूल पसलका सञ्चालक पर्साको छिपहरमाई गाउँपालिका–६ घर भई काठमाडौँको कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साहको पसल तथा डेरा कोठामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३ सय रुपैयाँ र भारतीय नगद ३ लाख ४ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
नगद बरामद भएपछि साहलाई नियन्त्रणमा लिई हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।