सिन्धुपाल्चोकमा ढुंगा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडकखण्डमा ढुंगा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुंगा लोड गरिएको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।
काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा दुर्घटनाका क्रममा सडकछेउतर्फ हाम फालेका थिए। त्यसलगत्तै टिपर पल्टिँदा लामा टिपरले च्यापिएका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्याएको थियो। तर उपचारकै क्रममा साँझ ७ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको जनाएको छ। दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।