सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच महिनापछि फर्किए देउवा, भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

२०८३ साउन २८, ०२:३५ नारायण अवस्थी

धनगढीः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै पार्टी, लोकतन्त्र र राष्ट्रिय एकताबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। २०८३ साउन २८ गते जारी विज्ञप्तिमार्फत देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।

स्वास्थ्य उपचारपछि नेपाली जनतामाझ पुनः उपस्थित हुन पाउँदा आफू भावुक भएको उल्लेख गर्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आफूलाई ‘विनम्र सेवक’ का रूपमा प्रस्तुत गर्दै मुलुकलाई समुन्नत बनाउने यात्रामा समर्पित हुने प्रतिबद्धता जनाएका छन्।

जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्न सरकारलाई आग्रह
देउवाले पछिल्लो समय जनतामा देखिएको परिवर्तनको ठूलो आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका छन्। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ।

ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वोच्च हुने बताएका छन्। परिवर्तन व्यवस्थापनको प्रक्रियामा नेपाली कांग्रेस सहयोग गर्न तयार रहेको, तर कुनै पनि रूपान्तरण विवेक, पारदर्शिता र न्यायका आधारमा हुनुपर्ने उनले स्पष्ट पारेका छन्।

युवा पुस्ताको आवाजलाई आत्मसात् गर्नुपर्ने
देउवाले युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै आफूले सुनेको उल्लेख गर्दै नेपाली कांग्रेसले युवाले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन्।

विश्व परिवर्तन भइरहेको अवस्थामा नेपाली कांग्रेस पनि समयको गतिसँग अघि बढ्नुपर्ने उनको धारणा छ। समाजका सबै वर्ग, समुदाय र पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्दै नयाँ पुस्तालाई राष्ट्र निर्माणको नेतृत्वमा अघि बढाउनुपर्ने उनले बताएका छन्।

गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि देउवाले स्मरण गरेका छन्।

काँग्रेसभित्रको असहमति र निराशा समाधान गर्न अपिल
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्। पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई सामूहिकतामा विश्वास गर्ने कांग्रेसको मूल चरित्रअनुसार अघि बढ्न उनले अपिल गरेका छन्।

उनले काँग्रेस कसैको व्यक्तिगत स्वार्थको पार्टी नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। युवा पुस्ता अघि बढ्नुपर्ने भए पनि पाका र अनुभवी पुस्तालाई नै खराब देखाउने भाष्य गलत भएको उनको भनाइ छ।

आफूले राजनीतिबाट लिनुपर्ने केही नरहेको उल्लेख गर्दै देउवाले आफ्नो विगतको अनुभव मुलुक र पार्टीले उपयोग गर्न सक्नुपर्ने तथा नयाँ पुस्तालाई त्यो अनुभव हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको बताएका छन्।

‘काँग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुँदैन’
पार्टीका साथीहरू निराश अवस्थामा रहेको उल्लेख गर्दै देउवाले उनीहरूको मनोबल बढाउने गरी पार्टीभित्रका भावनालाई पुनः जोड्ने समय आएको बताएका छन्। विगतमा मुलुकका जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्रका विवादमा मिलाप गराएको आफ्नो अनुभव आगामी दिनमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनले बताएका छन्।

आत्मसमीक्षा र मार्ग सुधारप्रति आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेस कतै विचलित भएको भए सुधार गर्ने र कमजोर भएको अवस्थामा पुनः उठ्ने बताएका छन्। तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षाले पार्टीको आगामी यात्रालाई मार्गदर्शन गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्यमा जोड
देउवाले नेपाली काँग्रेस एकताबद्ध हुँदै अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्। राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्न सबै पक्ष मिल्नुपर्ने उनको धारणा छ।

वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै उनले यसको संरक्षण गर्नुपर्ने र संशोधन आवश्यक भए राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने बताएका छन्।

संसदीय अंकगणितमा काँग्रेस सानो–ठूलो भए पनि २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनका हरेक चरणको नेतृत्व गरेको पार्टी भएको देउवाको दाबी छ।

‘प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं’
विज्ञप्तिको अन्त्यमा देउवाले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न आग्रह गरेका छन्। प्रत्येक बालबालिकाले निर्भीक सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाउने तथा सबै समुदायले समृद्धि र अवसरका साथ अघि बढ्न सक्ने नेपाल निर्माण गर्नुपर्ने उनले बताएका छन्।

सार्वजनिक जीवनमा आलोचना र प्रत्यालोचना स्वाभाविक भए पनि आफूले सधैं राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको देउवाले बताएका छन्। आफ्नो जीवन ‘खुला किताब’ भएको उल्लेख गर्दै उनले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देउवाले आफू ‘नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर’ विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न फर्किएको बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस