सुदूर नेपाललाई विश्वसँग जोड्दै

पद छोड्नु अघिससम्म मुख्यमन्त्री शाह 'नातावाद-कृपावादमै लिप्त'

२०८३ साउन २८, ०४:४५ नारायण अवस्थी

धनगढीः मुख्यमन्त्री भएदेखि नातावाद र कृपावादको अभ्यास खेप्दै आएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त आरोपबाट पदबाट हट्न लाग्दासमेत मुक्त हुने चेष्टासम्म नगरेको पाइएको छ। कर्मचारी सरुवादेखि बजेट विनियोजसम्म आफ्नो क्षेत्र र आफू निकटकालाई अवसर नै अवसर दिँदै आएका शाहले साउन २८ मा गरिएको कर्मचारी सरुवामा पनि निकटका व्यक्तिहरूलाई फाइदा पुग्ने निर्णय गरेका छन्।

मुख्यमन्त्री शाहले निकटका कर्मचारीहरूलाई दोहोरो जिम्मेवारीसहित आकर्षक कार्यालयमा सरुवा गरेका हुन्। मुख्यमन्त्रीबाट राजीनामा दिनुभन्दा अगाडि बसेको मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री शाहले ५२ जना कर्मचारीको सरूवाको निर्णय गरेका हुन्।

अल्पमतमा परेका शाहले उनी निकटका कर्मचारीहरूलाई फाइदा पुग्ने हिसावले कर्मचारी सरुवा गरेको भन्दै आलोचना हुन थालेको छ। अल्पमतमा परेको सरकारले गरेको कर्मचारी सरुवा उपर सार्वजनिक रुपमै प्रश्न उठाइएको छ।

अल्पमतमा परेर पद छोड्नै लाग्दा दर्जनौं कर्मचारी सरूवा गरेर मुख्यमन्त्री शाहले संसदीय मार्यादा विपरीतको काम गरेको नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलको आरोप छ। उनले भने, 'अल्पमतमा परेको सरकारले संसदीय मार्यादा विपरीत निर्णय गरेको छ। आफ्ना निकटका व्यक्तिहरूलाई फाइदा पुग्ने गरी विगतदेखि नै हुँदै आएको कार्यले अहिले पनि निरन्तरता पाएको छ। हामी यो कुराको घोर भर्त्सना गर्दछौँ।' सांसद रावलले मुख्यमन्त्री शाह पद छोड्नै लाग्दासमेत नातावाद र कृपावादको अभ्यास लिप्त भएको आरोप लगाए।

मुख्यमन्त्री शाहले पद छोड्ने लाग्दा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर खगेन्द्र बमलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सरुवा गरेका हुन्। २०८१ जेठमा जिमित्त निर्देशक भएका बमको पद सुरक्षीत बनाउन मुख्यमन्त्रीले स्वास्थ्य निर्देशनालय डोटीमै कार्यरत सिमा शर्माको जोगबुढा अस्पतालमा सरुवा गरिदिएका छन्।

शर्मा डाक्टर बमभन्दा सिनियर कर्मचारी भएकाले नयाँ आउने सरकारले शर्मालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिन नपाओस् भनेर मुख्यमन्त्री कार्यालयले शर्माको सरुवा गरेर बमको पद जोगाइदिएको स्वास्थ्य सेवाकै कर्मचारीहरूले बताएका छन्।

२०८१ जेठमा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट निमित्त निर्देशक बनेका डाक्टर बमले यो भन्दा अगाडि, निर्देशक पदमै बढुवा भएका एघारौं तहका डाक्टर जगदीशप्रसाद जोशीलाई महाकाली प्रादेशिक अस्पताल सरूवा गर्न लगाएका थिए। मुख्यमन्त्री शाहसँग राम्रो सम्बन्ध र घरायसी नातासमेत रहेकाले बम आयुर्वेद चिकित्सक भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयमा निमित्त निर्देशक भएर टिक्न सफल भएको चर्चा चल्ने गरेको छ।

२०८१ मा निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशी अध्ययन बिदामा गएपछि स्वास्थ्य निर्देशनालय निर्देशकबिहिन बनेको थियो। जसका कारण सामाजिक विकास मन्त्रालयले डाक्टर बमलाई निमित्तको जिम्मेवारी दिएर पठाएको थियो।

डाक्टर जोशी अध्ययन सकेर आउँदा मुख्यमन्त्री कार्यालयले उनलाई नियमानुसार निर्देशको जिम्मेवारी दिनुपर्नेमा निमित्त निर्देशक बमलाई नै निरन्तरता दियो। डाक्टर जोशीलाई भने गत माघमा महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको हो।

यस्तै, हाल अध्ययनका लागि विदेशमा रहेकी शर्मा निमित्त निर्देशक बमभन्दा सिनियर कर्मचारी हुन्। शर्मालाई समेत  स्वास्थ्य निर्देशनालय, डोटीबाट जोगबुढा प्रादेशिक अस्पताल, डडेल्धुरामा सरुवा गरेर मुख्यमन्त्री शाहले बमलाई अझै केही वर्ष निमित्त निर्देशक भएर काम गर्ने अवसर निर्माण गरिदिएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस