सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपहरण गरी १८ लाख फिरौती मागेको आरोपमा ७ जना पक्राउ

२०८३ साउन ३०, १२:११ खबर संवाददाता

काठमाडौँः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत वैशाख २८ गते झापा, शिवसताक्षी नगरपालिका–१० माइधार घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको थियो। अपहरणकारीले पीडितलाई कुटपिटसमेत गरी उनका परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीले जनाएको छ।

घटनाबारे गोप्य सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष टोली परिचालन गरिएको थियो। टोलीले जेठ २८ गते साँझ करिब ६ः३० बजे काठमाडौँको नागार्जुन नगरपालिका–५ छाउडेलबाट अपहरणमा परेका रायलाई सकुशल उद्धार गरेको जनाएको छ।

उद्धारसँगै प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी-३ का मनोज बुढाथोकी (३२), मकवानपुरको बागमती गाउँपालिका-५ का निशान रुम्बा तामाङ (३०), सर्लाहीको लालबन्दी नगरपालिका-४ का जेनिश चौधरी (२२), ओखलढुङ्गाको लिखु गाउँपालिका-५ का निमेष कार्की (२४), अर्घाखाचीको मालारानी-३ का प्रदीप पौडेल (२२), काभ्रेको भुम्लु गाउँपालिका-८ का देवकुमार श्रेष्ठ (२३) र चितवनको  राप्ती नगरपालिका-२ का अमित ओली (२४) रहेका छन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस