सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको ताम्सुका ५८ परिवार पहिरोको जोखिममा

२०८३ भदौ १, ०८:५३ खबर संवाददाता

बाजुराः बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको चपेटामा परेको छ। गत बिहीबार राति अविरल वर्षासँगै आएको पहिरोले मानवीय तथा भौतिक क्षति व्यहोरेको ताम्सु गाउँका ५८ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन्। 

ताम्सुमा जम्मा ६० घरपरिवार बसोबास गर्दै आएको थिए। गत बिहीबार राति दुई घर पहिरोले बगाएको छ भने बाँकी ५८ परिवार पनि उच्च जोखिममा रहेको वडाध्यक्ष नन्द थापाले बताए। “पहिरोले पुरिँदा स्थानीय धर्म थापा र कर्णबहादुर थापाका घर पूर्ण रूपमा क्षति भएका छन्”, उनले भने, “गाउँको बीच भागमा पहिरो जाँदा ठाउँठाउँमा जमिन चिराचिरा परेपछि गाउँमा रहेका ५८ परिवार नै उच्च जोखिममा छन्”, अध्यक्ष थापाले भने। 

गत बिहीबार राति अविरल वर्षासँगै आएको पहिरोले घरभित्र पुरिएर ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। गत बिहीबार राति १२ः०० बजेतिर ताम्सु गाउँमा पहिरो गयो भन्ने जानकारीलगत्तै प्रहरी चौकी बडीमालिकाबाट प्रहरीको टोली खटियो तर ताम्सु खोलामा पानीको बहाव धेरै हुँदा जान सकेन। 

शुक्रबार बिहानै सदरमुकाम मार्तडीबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली खटिएर ताम्सु खोलामाथिको झोलङ्गे पुल हुँदै घटनास्थलमा पुगेर उद्धार तथा बेपत्ताको खोजीमा जुटेको थियो। पछि जिल्लाबाट सशस्त्र प्रहरी र नेपाली सेना खटिएर खोजी गर्दा करिब १० घण्टापछि पुरिएको घरभित्रै मृत अवस्थामा कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको शव फेला परेको थियो। 

सोही पहिरोमा परेर ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए। धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ। बीस वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो। उक्त पहिरोमा घर पुरिँदा घाइते भएका स्थानीय धर्म थापाले ताम्सु गाउँ पहिलेदेखि नै पहिरोको जोखिममा रहेको बताए।

“त्यो दिन पानी धेरै परेको थियो, अघिल्ला वर्ष त धेरै पानी परेको दिन सबै घर छाडेर नजिकैको भैँसी गोठमा जान्थ्यौँ तर त्यो दिन मेरो छोरा र श्रीमती हेराउन धामी झाँक्री कहाँ पल्लो गाउँ गएका थिए। म र पल्लो घरमा भाइ, दिदी र भतिजी करिब १०ः०० बजेपछि खाना खाएर सुत्न लागेका थियौँ। म खाटमा आएर त्यतिकै पल्टिएको थिएँ। त्यति हुँदाहुँदै भूकम्प आयो भनेर उठेर ढोकातिर जाँदाजाँदै माथिबाट पहिरोले झ्याप्प ढोका बन्द भयो। म भित्र थुनिए। उनले भने, “त्यति हुँदाहुँदै पुरै घर पल्टियो मेरो शरीरमाथि ढुङ्गामुडा खसे, त्यतिकैमा म बेहोस भएँ। त्यसपछि के भयो मलाई थाहा भएन्। पछिल्लो बिहान मात्रै होस फर्कियो।” उनका अनुसार उक्त ठाउँ पहिलेदेखि नै पहिरोको जोखिममा रहेकाले रोक्नका लागि ग्याबिन हालेको थियो तर त्यो दिन लगातारको वर्षाले पुरै ग्याबिनसहित बगेर दुवै घरमाथि आएर बगायो। 

सबै घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

ताम्सु गाउँमा आएको पहिरोमा परेर विस्थापित भएका र उच्च जोखिममा रहेको घरपरिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताए। उनका अनुसार विस्थापित परिवारमध्ये केही सहकारीको भवनमा, केही गाउँकै महालक्ष्मी आधारभूत विद्यालयमा बसेका छन् भने केही परिवार त्रिपाल टाँगेर बसिरहेका छन्। 

यस्तै पहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ। लगाएको अन्नबाली पूर्ण रूपमा नष्ट हुनुका साथै खानेपानी र विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको स्थानीय दीपेन्द्र थापाले बताए। उनले हाल रेडक्रस सोसाइटी बाजुरासहित नगरपालिका, सङ्घसंस्थाले विस्थापित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, खानेपानीको व्यवस्थाका लागि पाइप र बस्न त्रिपालसमेत उपलब्ध गराएको र त्यसमै रात बिताउनु परेको बताए। पहिरोले घर वरिपरिको जमिन कटान गर्न थालेपछि स्थानीयले ज्यान जोगाउन घर छाडेर सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थालेका छन्। दिनभर पानी परिरहने र रातको समयमा पहिरो खस्ने जोखिम उच्च रहेकाले त्रासमा रात बिताउन बाध्य भएको स्थानीय धर्म थापाले बताए। 

“वर्षायामको झरी, चिसो र असुरक्षित बसाइका कारण स्थानीयको दैनिकी थप कष्टकर बनेको छ”, उनले दुखेसो गरे। “घरभित्र बस्न डर लाग्छ, बाहिर त्रिपालमा बस्दा पानी र चिसोको समस्या छ”, उनले भने, “कुनै पनि बेला पहिरो आएर घर बगाउने हो कि भन्ने डरले रातभर निदाउन सकिँदैन।” वर्षा अझै नरोकिएकाले पहिरोको जोखिम थप बढ्नसक्ने भन्दै प्रशासन तथा स्थानीय तहले जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरी सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयको भनाइ छ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बाटोसमेत भत्किएका छन्। जिल्लाका १०० बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। यसअघि साउन ४ गते आएको पहिरोले बडिमालिका नगरपालिका–६ कोर्धका १६ परिवार विस्थापित भएका थिए। 

सोही पालिकाको वडा नम्बर ९ सेलाघाटमा बाढी आउँदा एक जना घाइते भएका थिए भने तीन परिवार पूर्ण रूपमा विस्थापित भएका थिए। बाढीले खेतबारीमा लगाएको अन्नबाली बगाएर बगरमा परिणत गरेको थियो। बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन्। भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण समग्र जिल्ला नै विपद्को उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा जुनसुकैबेला पनि विपद्जन्य घटना हुनसक्ने भन्दै त्यसको पूर्वतयारी, स्रोतसाधनको व्यवस्था र आपसी समन्वय न्यूनीकरण, राहत र उद्धारमा सदैव तत्पर रहेको बताए। 

कमेन्ट लोड गर्नुस