सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुखको रुलिङपछि विपक्षीको विरोध स्थगित, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने

२०८३ भदौ १, ०२:०८ खबर संवाददाता

काठमाडौँ: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएसँगै विपक्षी दलहरूले सदनको अवरोध स्थगित गरेका छन्। लामो समयदेखि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै आएका विपक्षी दलहरू सभामुखको रुलिङपछि सोमबारदेखि सदनको कारबाही अघि बढाउन सहमत भएका हुन्।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने, माफी माग्नुपर्ने वा स्पष्ट पार्नुपर्ने माग गर्दै सदनमा अवरोध गर्दै आएका थिए।

सोमबारको बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने तथा प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले अनिवार्य रूपमा सांसदका प्रश्नको जवाफ दिने व्यवस्था नियमित गर्नुपर्ने माग दोहोर्‍याएका थिए।

विपक्षी सांसदहरूको निरन्तर विरोधपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीका नियम ५६, ५७, ५८ र ५९ बमोजिम प्रधानमन्त्रीलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरे।

सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरू र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधि सभा नियमावलीको नियम ५६ देखि ५९ सम्मको व्यवस्था बमोजिम जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई निर्देशन गर्दछु।’

प्रधानमन्त्रीलाई आवश्यक निर्देशन दिन नसकेको भन्दै यसअघि आलोचित हुँदै आएका सभामुख अर्यालले सोमबारको रुलिङमार्फत सदनको गतिरोध अन्त्य गर्न निर्णायक भूमिका खेलेका छन्। रुलिङलगत्तै विपक्षी दलहरूले आफ्नो विरोध कार्यक्रम स्थगित गरेका हुन्।

अब प्रधानमन्त्री शाहले आगामी बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेछ। साथै, नेपाल र भारतको भूमिसँग सम्बन्धित विवादास्पद अभिव्यक्तिबारे समेत उनले सदनमा स्पष्टीकरण दिनुपर्ने अवस्था बनेको छ।
 

कमेन्ट लोड गर्नुस