कोड फेस्टमा टिम टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कञ्चनपुर: कोड फर चेन्ज–फारवेस्टको आयोजनामा ‘कोड फेस्ट : प्रोभिन्सियल लेभल आइडियाथन एन्ड आइडिया शोकेस’ सम्पन्न भएको छ। शनिबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्ने युवाहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। जसमा गौरव कठायत, कृतिक श्रेष्ठ, गजेन्द्र अवस्थी र प्रदीप पन्त सम्मिलित टिम टेम्पेस्ट ट्रान्जिस्टर्स प्रथम हुँदै विजेता बनेको छ।
त्यस्तै शेखर सिंह रावल, सन्देश जोशी र सोमराज जोशी सम्मिलित टिम सेफ नेपाल प्रथम रनरअप तथा नितेश जोशी, उज्ज्वल सिंह महता, बृजला पाण्डे र आरती भट्ट सम्मिलित टिम फारवेस्टियन द्वितीय रनरअप भएका छन्।
प्रतियोगिताको निर्णायकमा डा. गम्भीरबहादुर चन्द, उमेशराज पाण्डेय र सन्तोष बिष्ट रहेका थिए। कार्यक्रम कोड फर चेन्ज–फारवेस्टकी प्रोजेक्ट लिड नेहा जोशीको सभापतित्व तथा सुदूरपश्चिम विश्वविद्यालयकी सहायक प्राध्यापक डा. निशा भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा कोड फर चेन्ज–फारवेस्टको आधिकारिक लोगो डिजाइनमा योगदान पुर्याएको भन्दै जनसम्पर्क प्रमुख रवि भट्टलाई प्रशंसापत्र प्रदान गरिएको थियो। यस्तै, विशेष योगदानका लागि उमेशराज पन्त, तेकेन्द्रप्रसाद जोशी र डा. प्रकाश दत्त भट्टलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा एसएनएससी आईटी क्लब, एसएनएससी इको क्लब, युथम्यापर्स एफडब्लूयू, नास्ट आईटी क्लब, आईसीईसी, एसओईएस र साइबर सेक्युरिटी क्लबले सामुदायिक साझेदारका रूपमा सहकार्य गरेका थिए। कार्यक्रमको सञ्चालन कोड फर चेन्ज–फारवेस्टका पूर्व प्रोजेक्ट लिड रोहित पालले गरेका थिए।
आयोजकका अनुसार कोड फेस्टको मुख्य उद्देश्य युवाहरूमा प्रविधि, सिर्जनशीलता, समस्या समाधान तथा नवीन सोच विकास गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूका नयाँ अवधारणालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हो।