थारु समुदायले धुमधामसँग मनाए गुरही पर्व
कैलालीः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले आज यहाँ ‘गुरही’ पर्व धुमधामसँग मनाएका छन्।
थारु समुदायको पहिलो पर्वका रुपमा परिचित गुरही पर्व कैलाली, कञ्चनपुरका थारु समुदायको बसोबास रहेका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाएका हुन्। धनगढीको क्याम्पस (गुरह) चोकमा सखी सञ्जाल कैलालीको आयोजनामा गुरही असरैना कार्यक्रमको आयोजना गरी थारु समुदायका महिला, पुरुष तथा बालबालिकाको सहभागितामा गुरही पर्व मनाइएको सखी सञ्जाल कैलालीकी संयोजक सानु चौधरीले जानकारी दिइन्। परम्परागत पोसाकमा सजिएका थारु समुदायका महिला तथा पुरुषले पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाचगान तथा मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गरेको संयोजक चौधरीको भनाइ छ।
“विशेषगरी ‘गुरही’ एक प्रकारको कीराको नाम हो। यस कीरालाई नेपाली भाषामा ‘गाइनेकीरा’ भन्ने गरिन्छ। गर्मीयाममा गाउँघरमा व्याप्त दुषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ।” गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरीया बनाई गाउँको चोकमा सेलाउने गर्दछन् र पुरुषहरु सेलाएको गुरियालाई लट्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध र नराम्रो चिज लैजा भनेर जोरजोरले कराउने प्रचलन रहेको छ।
त्यसैगरी, कैलालीका विभिन्न थारु बाहुल्य बसोबास क्षेत्रमा गुरही पर्व धुमधामसँग मनाइएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिए। खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाई गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने प्रचलन रहेको छ।
यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरेको छ। गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने विश्वास रहेको थारु अगुवाले बताएका छन्। यसर्थ, यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ।
यस पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने जनविश्वास छ। परापूर्वकालदेखि यो पर्व थारु समुदायले नागपञ्चमीका दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको पनि सुरुआत हन्छ। यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्ने कुनै लिखित इतिहास छैन। पर्वका अवसरमा आज जिल्लाका स्थानीय तहले यहाँ सार्वजनिक बिदासमेत दिएका थिए।