बैतडीका एक परिवार सवार स्कारपियो मकवानपुरमा दुर्घटना, महिलाको मृत्यु
बैतडी– मकवानपुरमा भएको स्कारपियो दुर्घटनामा बैतडीकी एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–७ सुर्काल बस्ने, ५१ वर्षीय तारादत्त बडूकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडूको मृत्यु भएको हो।
तारादत्त बडूसहित उनका २५ वर्षीय छोरा रितेन्द्र बडू र ३१ वर्षीया छोरी रिता बडू गम्भीर घाइते भएका छन्।
उपचारका लागि उनीहरुलाई काठमाडौँ अस्पताल लगिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको हो।
घाइते भएका ६ जना मध्ये लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो। नेपाली सेनाको हेडक्वार्टरमार्फत उपचारका लागि काठमाडौँस्थित छाउनी अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।