महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी
दार्चुलाः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवका रूपमा रहेको महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी रहेको छ ।
नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिरहेको कोरिडोरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार १८ अर्ब रुपियाँ लागत रहेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका कार्यालय प्रमुख ईश्वर कार्कीले जानकारी दिए। हालसम्म गरिएको निर्माणमा चार अर्ब रुपियाँ खर्च भइसकेको छ ।
कोरिडोर निर्माणका लागि १४ अर्ब रुपियाँको काम हुन बाँकी रहेको उनले बताए। आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु भएको कोरिडोरको ३३४ किलोमिटरमध्ये हालसम्म २८८.५ किलोमिटरमा ट्र्याक खोलेको उनले बताए।
कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलास्थित ७९ किलोमिटर सडकको निर्माण नेपाली सेनाले गरिरहेको छ । कोरिडोरको कञ्चनपुरमा पर्ने ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटरमध्ये ३२ किलोमिटर, बैतडीको १४४ किलोमिटरमध्ये १४१.५ किलोमिटर र दार्चुलाको १२१ किलोमिटरमध्ये १०४ किलोमिटर सडकको ट्र्याक खुलेको उनले बताए। अब ४५.५ किलोमिटरमा मात्रै ट्र्याक खोल्न बाँकी रहेको छ।
डडेलधुरामा २६ किलोमिटर, बैतडीमा २.५ किलोमिटर र दार्चुलामा १७ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको तथा चालु आर्थिक वर्ष २०८३/८४ मा १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमै १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख कार्कीले बताए। योजनाले विभिन्न ठेक्काको एक अर्ब रुपियाँ दायित्व भुक्तानी गर्न बाँकी रहेको उनकाे भनाइ छ ।
कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाका लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटर तथा नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटरको महाकाली कोरिडोर निर्माण सम्पन्न भएपछि चीनसँगको तिङ्कर नाका हुँदै नेपाल–चीन सवारीसाधन गुड्ने छन् ।
उनले चालु आर्थिक वर्षमा विनियोजित बजेट ३९ करोड ४० लाखबाट पुरानो दायित्व भुक्तानी गरिने बताए। नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटरमध्ये आव २०८१÷८२ सम्ममा २० किलोमिटर सडकको ट्र्याक खोलेको छ, भने १२ किलोमिटर सडकमा (दुम्लिङगाउँसम्म) गाडी गुड्न सक्ने बनाएको छ । -गाेरखापत्रबाट