महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेस
काठमाडौं: नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा भदौ ११ देखि ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुँदैछ ।
महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने आयोजक केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
एक दिने सम्मेलनमा महिलाको आर्थिक सशक्तिकरणलाई समुन्नतिको महत्वपूर्ण आधारका रूपमा लिँदै महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने बताइएको छ ।
सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुग्ने विश्वास कांग्रेसको छ ।
तीनवटा विषयगत प्यानल छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।