मोहम्मद ‘डे’मा धनगढीमा रक्तदान कार्यक्रम आयोजना
धनगढीः इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती अर्थात् ‘मोहम्मद डे’को अवसरमा धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। बुधबार मोहम्मद जयन्ती विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमसहित मनाइएको हो।
मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले बिहानैदेखि शान्तिपूर्ण सद्भाव र्यालीसमेत आयोजना गरेको थियो। समुदायका सदस्यहरूले विभिन्न नारासहित र्याली निकाल्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नुपर्ने सन्देश दिएका थिए।
नेपाली नुरी जामा मस्जिद र गौसिया मस्जिदको आयोजनामा धनगढी उपमहानगरपालिका–स्थित पृथ्वीनारायण चोकमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा समुदायका सदस्यहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन्।
‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रमले मानवीय सेवाको भावना प्रवर्द्धन गर्नुका साथै आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ। रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा सबै धर्म र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। देशमा शान्ति, सद्भाव र सुशासन कायम गर्न सबै समुदायले हातेमालो गर्नुपर्ने धारणा आयोजकले व्यक्त गरेका छन्।
मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले पैगम्बर मोहम्मदका शिक्षा, उपदेश तथा मानवताप्रतिको सन्देश स्मरण गर्दै धार्मिकसँगै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम आयोजना गर्दै आएको छ।